खर्चको अभावमा उपचार भएन

shreenagarfm

डोलबहादुर बिक 
पाल्पा, कार्तिक २२
झट्ट हेर्दा भर्खर जन्मिएको बालक जस्तै देखिने मनोज काम्मु अहिले १३ वर्षको भए । उनले आँखाले देख्दैन्, कानले सुन्दैनन्, बोल्न सक्दैनन्, हिड्न सक्दैनन् । 
१३ वर्षसम्म पनि उनको जीवन अन्धकारमय झुलमा वितिरहेको छ । झण्डै ८ किलो भएका मनोजको शरीरको भन्दा २ गुना बढी तौल टाउकाको छ । उनको शरीरले टाउको धान्न सक्दैन । जन्मिदै यस्तै  जन्मिएको उनको शरीरको भन्दा टाउकाको तौल दिनप्रतिदिन बढ्दै गएको छ । आफै खान सक्दैन, खाना खुवाउन झन्डै २÷३ घण्टाको समय लाग्छ । दुध र बिस्कुट बाहेकका अन्य खाना उनलाई मिल्दैन, अरु खान सक्दैनन । तापनि उनको उपचार हुन सकेको छैन, कारण परिवारिक विपन्नता । वीरकोट–२, शिखरडा“डा पाल्पामा जन्मिएका मनोजको परिवारमा बुवा, आमा,  दिदी र दाई छन् । 
गाउ“को घर भूकम्पले लगिदिएपछि बुवा ज्ञानबहादुर काम्मु अहिले तानसेन–१३, बन्दिपोखरामा जग्गा भाडामा लिएर कृषि पेसा गर्दै आएका छन् । तर, निर्वाह मुखी कृषि पेसाबाट उनको परिवारलाई वर्ष दिन खानलाउनसमेत पुग्दैन । कान्छो छोराको यस्तो नाजुक अवस्था भएपछि बुवा ज्ञान बहादुर कमाउन बाहिर हिड्न पाएका छैनन् । ‘छोराको टाउकोमा पानी जमेको छ रे, दिनभरिनै कि त आमा कि म धरालो बस्नु पर्छ, आफूलाई अप्ठेरो भयो भने कहराउँछ, बोल्न सक्दैन, उसको सुरारमै समय बित्छ, उपचारको लागि पैसा छैन’ ज्ञानबहादुरले दुखेसो पोखे । परिवारलाई बनाएको खाना मिल्दैन, बिमारी भएको बेलामा दिनभरि नै खाना खुवाउनमै समय जाने उनीहरुको भनाई छ । दाँत छैन, खान जान्दैनन्, चपाउन सक्दैनन् मुन्टो उठाउन सक्दैन्, काखमा लिँदा ५ मिनेटमै हात गलाउँछ उसको मुन्टोले । आमा कमला काम्मुले बताइन् पछाडिबाट लाइट बाल्दा अगाडि टाउको भित्रको सबै भाग देखिन्छ, अस्ति भर्खरै निमोनियाको उपचारपछि निको भएको छ, अरु छोरा, छोरी राम्रै छन् । यसलाई यस्तो के भो ? १३ वर्ष भयो उसको टाउको मात्र बढेको छ, उपचारको लागि चेकजाँच गराउँन समेत पैसा छैन ।’ उनलाई चिसोबाटै बचाउन गाह्रो हुन्छ । दिसा पिसाबको लागि पनि दिनभरी धरालो बस्नुपर्छ  कमलाको भनाई छ । मनोजका १२ वर्षीय दाजु र १४ वर्षीय दिदीले पनि भाइलाई खाना खुवाउन, धरालो गर्न सक्दैन् । अरु बेला बुवाले हेरविचार गरे पनि खाना खुवाउन आमा नै चाँहिन्छ । 
दुध, बिस्कुट र लिटो मनोजको खाना हो । परिवार धान्न ज्ञानबहादुरसँग त्यही भाडामा लिएको टुक्रो छ । सिजन अनुसार तरकारी उत्पादन गर्ने, तानसेन बजार पुर्याएर बेचेको पैसाले घरखर्च चलाउने । हाम्रै कमाइबाट छोराको उपचार गर्न सम्भव छैन्, ज्ञान बहादुर भन्छन् “कही कतैबाट दयामायाले पैसो जुट्यो भने एक पटक छोरालाई ठुला डाक्टर देखाउने विचार छ ।’‘
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal