जिल्लाको पुर्नसंरचनामा जनताको बेवास्ता

shreenagarfm

छलफल विना नेताले जिल्ला बाँडेको आरोप

पाल्पा, कार्तिक २५  
स्थानीय १० तहमा पाल्पालाई विभाजन गर्ने निर्णय सहित केन्द्रमा फाइल गएको छ । दुई नगरपालिका र ८ गाउपालिका बन्दैछ पाल्पामा । तर आफ्नो गाविस, वडा र त्यसका केन्द्र कहाँ राख्ने, नामकरण के गर्ने भन्ने विषयमा स्थानीय तहमा छलफल नगरेको र छलफल भएका ठाउका जनताले गरेको निर्णय पनि जिल्लाले उल्ट्याई दिएको भन्दै दिनै पिच्छे जिल्ला विकास समितिमा गुनासोहरु आईरहेका छन् ।  बराङ्दी गाविसलाई टुक्र्याएर दुई चिरा पारेको विरोधमा स्थानीयले हस्ताक्षर बुझाएका छन् । वडा बाँडफाँडमा जिल्लाले अन्याय गरेको भन्दै रामपुर नगरवासीले जिविसमा असन्तुष्टि जाहेर गरेका छन् ।  
स्थानीय तहको छलफलमा तह नम्बर १ को केन्द्र गल्धामा राख्ने निर्णय भए पनि जिल्लाले मित्याल राख्ने निर्णय गरेपछि गल्धामा सर्वदलीय बैठक बसेर निर्णय सच्याउन माग गरेका छन् ।  तह ५ मा पर्ने रुप्से र कसेनीले पनि गाउँपालिकाको केन्द्र झडेवा राख्न लागेको भन्दै बिरोध गरिरहेका छन् । यसरी नै गाउँपालिका बनाउँदा, केन्द्र तोक्दा र वडा मिलाउँदा जनताका रायलाई बेवास्ता गर्दे राजनैतिक दलहरुले भोटको जोड घटाउन गरेर जिल्लाको बाँडफाँड गरेको गुनासो धेरै छन् । तानसेन नगरपालिकामा गाभिएका गाविसहरु, ताहँु, हुमिन, हेक्लाङ्, पिपलडाँडा, कसेनी, रुप्से लगाएतका गाविसलाई मिलाइएका गाउँपालिका त्यसकै उदाहरण भएको धेरैको विश्लेषण छ । केन्द्रको निर्देशिका र जिल्लामा भएको सर्वपक्षीय भेलाको निर्णय पछि मात्रै  फाइल पठाएको स्थानीय तह पुनर्संरचना प्राविधिक समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेको भनाई छ । होचुवाको भरमा काम गरेका छैनौ, स्थानीय विकास अधिकारी पाण्डेले भन्नु भयो सबै जिल्लालाई  मिलाउँदा केही गुनासाहरु आएका हन्, त्यसलाई पनि केन्द्रमा लेखी पठाएका छौ । (श्रीनगर खबर पत्रिका)
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal