मनिषा मृत्यु प्रकरणः पोलीग्राफ रिपोर्ट

आशिषले हत्या गरेको देखिएन
रामकुमार श्रेष्ठ
नवलपरासी, १९ जेठ,  फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु प्रकरण झन रहस्यमय बन्दै गएको छ ।
पोष्टमार्टम रिपोर्ट पनि प्रष्ट नआएको र पोलीग्राफमा पनि मनिषाका प्रेमी आशिष भनिने          रुद्रनारायण चौधरीले हत्या नगरेको दावी सत्य देखिएपछि थप जटिल बनेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आज विहान गरिएको पत्रकार सम्मेलनमा प्रहरीले पोलीग्राफ रिपोर्टमा आशिषले मनिषाको हत्या नगरेको देखिएको बताए ।
अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख शेरबहादुर बस्नेतले पोलीग्राफ गर्ने क्रममा आशिषले मनिषा घर्ती मगरको घांटी थिचेर हत्या नगरेको दावी गरेको र सोही नै सत्य देखिएको प्रारम्भिक रिपोर्ट आएको बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पोलीग्राफमा प्रारम्भिक रिपोर्टमा आशिषले सत्य बोलेको देखिएपनि पोलीग्राफ रिपोर्टमाथि थप अनुसन्धान हुने छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उक्त राति मनिषा र आशिष बीच झैझगडा भएको एक अर्काबीच अब सम्बन्ध रोक्ने लगायतका विषयमा विवाद भएको खुल्न आएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले पोष्टमार्टम रिपोर्टमा घाँटीमा दबाबका कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ जुन हत्या वा आत्महत्या दुवै हुन सक्ने जनाइएको छ ।
पोलीग्राफमा खटिएका क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले पोलीग्राफ माथि अझ अध्ययन गरिने बताए । पोलीग्राफका लागि आएका प्रहरी निरीक्षक पाण्डेले आफूले आशिषको पोलीग्राफ गर्ने क्रममा घांटी कसेर मारेको हो कि होइन ? भनेर गरेको प्रश्नमा आशिषले होइन भन्ने उत्तर दिएको र पोलीग्राफमा सो कुरा सत्य देखिएको बताए।
नवलपरासीका प्रहरी नायव उपरीक्षक राजेन्द्र चौधरीले प्राविधिक ढंगले अनुसन्धानको प्रारम्भिक रिपोर्ट आएपनि अनुसन्धान भने राजी रहेको र विभिन्न कोणले घटनाको अनुसन्धान गरिरहेको बताए ।
आशिषको मंगलबार सुनवलमा ५ घण्टा लगाएर पोलीग्राफ गरिएको थियो । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal