फोहोर व्यवस्थापनको प्रयास भइरहेको छ : कार्यकारी अधिकृत पौडेल

shreenagarfm

वनदेवीमा विगत ३९ महिनादेखि फोहोर फाल्दै आएको र अस्थायी व्यवस्था गर्दै आएका थियौँ । पछिल्लो समय मंसिर ८ गते राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुसँग बैठक बसेर ३ महिनाभित्र तानसेन १२ को ल्यान्डफिल्ड साइट जाने कुरामा प्रतिबद्धता गरेका थियाँै । त्यसमा प्राविधिक विषयमा मात्र नभएर सामाजिक विषय पनि भएको हुँदा १२ नम्बरका तेल्घावासी हरुसँग पनि विभिन्न चरणमा छलफल गर्दै निष्कर्षमा पुगेका थियौँ त्यही बीचमा मंसिर २ गते उहाँहरुले चिठ्ठी लेख्नु भयो, कुनै पनि सर्तमा फोहर फाल्न दिन सक्दैनौ भन्ने उहाँहरुको आशय आयो । उहाँहरुले एउटा कार्ययोजना बनाएर १२ नम्बरमा के के गर्ने  त्यहाँको सुधारका कामहरु के गर्न सकिन्छ ती कार्ययोजना ल्याएपछि केही समयका लागि व्यवस्थापन गर्न दिन सक्छौँ भन्ने कुरा आयो सामुदायिक वनको साधारण सभा पनि भएकाले उहाँहरूसँग छलफल गरी एउटा कार्ययोजना बनाउँदै छौँ त्यही योजनाको आधारबाट नै फोहोर व्यवस्थापन गर्न सक्छौ भन्ने लागेको छ । ल्यान्डफिल्डमा केही संरचनाहरु बनाएर त्यसलाई व्यवस्थित तरिकाले फोहोर फाल्ने कुरामा छलफल गर्नुपर्ने अवस्था छ अन्य उपाय पनि तयार गर्नुपर्ने आवश्यकता सिर्जना भएको छ ।  
यो समस्या पहिला पनि यस्तै थियो । तपाईहरुले भौतिक पूर्वाधारहरु बनाउनु हुन्छ, स्थानीयहरुले रोक्छन् फेरी फोहोरको थुप्रो सडकमा देखिन्छ किन यस्तो भैराखेको छ ?
यसमा दीर्घकालीन रुपमा सोचेनौ कि जस्तो पनि लाग्छ । स्थानीयका मागहरु पूरा गर्दै त्यहाँको व्यवस्थापकीय पक्षमा पनि ध्यान दिनु पर्ने थियो । विगतमा केही समयमा ल्यान्डफिल्ड साइटमा फोहोर विर्सजन गर्दै गर्दा पनि त्यसमा त्यति राम्रोसँग व्यवस्थापन गर्न सकेनौँ त्यसैले त्यहाँको समुदाय ल्यान्डपिल्डप्रति बढी नकारात्मक भएको अवस्थाले गर्दा पनि उहाँहरुलाई सम्झाउन असजिलो भएको हो । 
स्थानीयहरु अहिले धेरै समझदारीमा आउनु भएको छ । राम्रोसँग व्यवस्थापन गरेर फाल्ने र व्यवस्थापन गर्नु पर्ने कुरामा उहाँहरु पनि सचेत हुनुहुन्छ, हामी पनि त्यही हिसाबले छलफल गरेर चरणबद्ध रुपमा जाँदा फोहोर व्यवस्थापन हुने र त्यहाँका समस्याहरुलाई क्षतिपूर्तिको सिद्धान्त अनुरुप पनि केही विकासका योजनामा सम्बोधन गर्नका लागि परिषद्बाटै निर्णय गरेर केही प्रतिशत बजेट छुट्यायाँै भने उहाँहरुलाई समझदारीमा ल्याउन सकिन्छ भन्ने लागेर राजनीतिक दलदेखि लिएर सबै संयन्त्रमा साझेदारी भएको छ । 
समस्या समाधानको दीर्घकालीन उपाए के होला त ? 
फोहोर वास्तवमा मोहर पनि हो । वालिङले एउटा उदाहारण पनि पेस गरेको छ । विद्यालयको जग्गा भाडामा लिएर एनजिओबाट स्वीकृत लिएर बजार बढाएर उल्टै नगरपालिकालाई सहयोग गरेको छ । 
हामीले पनि त्यहाँको अनुभव र सम्झौताहरु मगाएर हेरेका छौँ । सबै भन्दा राम्रो उपाय भनेको १२ नम्बरबाट संस्था वा सहकारी मार्फत नकुहिने चिजलाई बजारमा पुननिर्माणको लागि पठाएर आम्दानीको स्रोत बनाउन सकिन्छ त्यो व्यवस्थापनका लागि नगरपालिकाले अनुदान दिने र केही पुन निर्माण गर्ने तरिकाबाट जान सके त्यो दिगो हुन्छ । जुन फोहोरहरु बजारका चोक चोक लगायत नगरपालिकाको गाडीमा पनि भरी छ । फोहोरलाई व्यवस्थापन गरी कुहिनेलाई कम्पोष्ट मल बनाउन सकिन्छ भने नकुहिनेलाई पुन निर्माण गर्न सकिन्छ । 
त्यस हिसाबले पनि सहकारी वा संस्थाबाट पनि व्यवस्थापनमा पहल भयो भने दिगो समाधान हुन सक्छ । 
 
 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal