कामको खोजीमा युवा जति विदेश पसेपछि गाउँमा समस्या

shreenagarfm

देव पचभैया
पाल्पा, माघ १७, २७ घर मगर वस्ती रहेको एउटै गाउँका २६ युवा विदेश गएपछि खानीगाउँ ३ टाँकीचौर पाल्पामा अहिले बुढाबुढी, महिला र बालबालिका मात्रै भएका छन् । १५ बर्षअघि सम्म धान, कोदो, तोरी मकै, गहुँ लगाएत तरकारी खेतीले हरियाली हुने खेतबारी अहिले बाँझिएका छन् । गाईघाट खोलाबाट गाउँमा आउने कुलो सुकेको वर्षौ भैसक्यो । रानीघाट दरबारदेखि आधा घण्टाको ठाडो उकालो पैदल हिंडे पुगिने टाँकीचौर पुग्न सदरमुकाम तानसेन देखि जिपमा डेढ घण्टा लाग्छ । छोराहरु विदेश पसेपछि गाउँमा पिंढीकुरुवा बनेका बुवाआमालाई यति कष्ट छ कि बिरामी हुँदा समेत तातोपानी खुवाउने कोही छ्रैन । वस्तुभाउलाई घाँस दाउरा गर्ने पर्ने, बिहान पकाउँछु, साँझलाई राख्छु, साँझ पकाउँछु, विहानलाई पुग्छ, एक्लै भएपछि गाउँलेले एक्ला बजै भनेर बोलाउने ५९ वर्षीया लाली थापाले भन्नुभयो सघाउने कोही छैनन्, जे दुःख छ आफैलाई छ । प्राय ः सबैघरका युवा विदेशिएका छन् । भएका तीन भाइ छोरा विदेश पठाएका कृष्णबहादुर थापाको अनुभवमा नेपाल बसेर केही फाइदा नभएपछि सबै केटाहरु प्रदेशिएका हुन् । स्थानीय शिक्षकसमेत रहनुभएका थापाले विदेश जाने चलनले एस.एल.सी नदिंदै युवाहरु बाहिरिएको बताउनुभयो । एक दुई जनाले मात्रै क्याम्पस पढेका छन्, उहाँले भन्नुभयो नत्र आठ दश पढ्दै बाहिरिएका हुन् । विदेश गएका युवाहरु मध्ये १७ जना दुवई, कतार र मलेशिया पुगेको र अरु भारत पसेको स्थानीय वलबहादुर थापाले जानकारी दिनुभयो ।
उति बेला छिमेकी गाउँमा भन्दा टाँकीचौरमा खुब धेरै मकै र धान फल्थ्यो ।  काउली मुला, गाजर र तरकारी किन्न कालीपार (स्याङजा) बाट पनि ग्राहक आउथेँ । अहिले काम गर्ने मान्छै छैनन्, ८५ वर्षीय टिकाराम रानाले भन्नुभयो खेतबारीका झाडी सफा गरौँ भन्दा कसैले मान्दैनन्, अल्छीलाई खुब सुख भएको छ । गाउ“मा मर्दा पर्दा काम गर्नेको निकै खा“चो छ । खेतबारी जोत्न र बिरामी पर्दा अस्पताल पु¥याउने मान्छेको अभावमा छिमेकी गाउ“बाट सहयोग माग्नु परेको स्थानीय सुरेन्द्र थापाले बताउनुभयो । साउदी , दुवई र कतारमा गरी ७ वर्ष बसेका सुरेन्द्र एक महिनाअघि मात्रै घर फर्किनुभएको हो । साथी भाइ सबै गएपछि रहर लाग्यो, थापाले भन्नुभयो गएपछि बाध्यता हुन्छ, परिवार सम्झिएर के गर्नु साहुको ऋणले उतै भुलाउँदो रैछ । गाउ“का यति धेरै युवा विदेश गएपनि उपलब्धि भने खासै नभएको  स्थानीयले बताए । विदेश भएका मध्ये दुई चार जनाले बजारमा घर जग्गा जोडे नत्र केही भएको छैन, ३५ वर्षीया सीता थापाले भन्नुभयो उताको कमाईले छोराछोरी पढाउन र घर खर्च चलाउनै ठिक्क भएको छ । मगर  वस्ती मात्रै रहेको टाँकीचौर गाउँमा मात्रै हैन ब्राह्मण क्षेत्री मात्रैको बसोबास रहेको गाउँमा पनि युवाको खडेरी छ भन्ने उदाहरण खानीगाउँ गाविसकै वडा नम्बर ९ कल्लाबारी गाउँलाई हेरे पुग्छ । २५ घर रहेको यो गाउँका प्रायः सबै युवा विदेशिएका छन् । बिरामी पर्दा मात्रै हैन, बर्खामा घर पस्ने भल छेक्ने कोही छैनन्, एक्ला छोरासमेत दुवई गएको बताउने ६७ वर्षीय अग्नीबहादुर क्षेत्रीले भन्नुभयो बुढाबुढीको मात्रै गाउँ बनेको छ ।
धन्न गाउँमा गाडी आयो, नत्र के हुन्थ्यो ? क्षेत्रीले भन्नुभयो  हलो गर्ने बित्तिकै गाडी आउँछ र हो नत्र बिरामी परे सिधै घाट लगे हुन्थ्यो । छोरो विदेश गएपछि नाति नातिना च्यापेर बुहारी शहर पस्दा गाउँमा बुढाबुढी मात्रै भएको स्थानीय खानीगाउँ आधारभूत विद्यालयका निमित्त प्रअ नलबहादुर साठीघरेले बताउनु भयो । हाम्रै स्कुलमा ३ सय बढी विद्यार्थी थिए, अहिले घटेर सय जति भएका छन् । उहाँको दुखेसो छ, यस्तै अवस्था रहे विद्यार्थीको अभावमा विद्यालय बन्द गर्ने अवस्था आउने देखिएको छ । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal