स्थानीय निकायका कर्मचारी आन्दोलित

पाल्पा, फागुन २ 
स्थानीय निकायका  कर्मचारी सङ्घको नेतृत्वमा  गाविस, नगरपालिका र जिविसको काम ठप्प भएपछि सेवाग्राही समस्यामा परेका छन् । जिल्ला विकास समिति, नगरपालिका तथा गाउ“ विकास समितिले स्थानीय स्वायत्त शासन ऐनअनुसार भर्ना गरेका कर्मचारीहरूले अब गठन हुने स्थानीय तहको नेतृत्व गर्न पाउनुपर्ने भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । सरकारले निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने क्रममा स्थानीय तहका कर्मचारीलाई विभेद गर्न लागेको भन्दै आन्दोलनमा उत्रिएको कर्मचारी सङ्घका केन्द्रित सदस्य रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । केन्द्रीय समितिको निर्देशन अनुसार सबै जिल्लामा आन्दोलन भैरहेको पाण्डेको भनाइ छ । कर्मचारीले स्थानीय निकाय बन्द गरेर कामकाज ठप्प पारेपछि गाउँबाट आएका सेवाग्राही भने घर फर्किनु परेको छ । स्थानीय निकायका कर्मचारी अन्तर्गत गाविसका प्राविधिक सहायक र कार्यालय सहायक तथा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी, योजना अधिकृत, लेखा अधिकृत र एक लेखापालबाहेक बाँकी सबै कर्मचारी आन्दोलनमा छन् ।
कर्मचारीको आन्दोलनले तानसेन नगरपालिकाको काम पनि प्रभावित भएको छ । कार्यकारी अधिकृत अनिल पौडेललाई समेत कार्यालय प्रवेशमा रोक लगाएपछि दैनिक काम प्रभावित भएको उहाँले बताउनुभयो । गाविस सचिवहरूको हड्ताल सकिएको हप्ता दिन नहँुदै स्थानीय निकायका कर्मचारीको आन्दोलनले दैनिक काम प्रभावित भएको छ भने सेवाग्राही मर्कामा परेका छन् ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal