पत्रकार महासंघ पाल्पा शाखाको १० औँ अधिवेशनको आज उद्घाटन हुदै

shreenagarfm

पाल्पा, फागुन २
नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १० औँ अधिवेशनको आज उद्घाटन हँुदैछ । दिउँसो २ बजे हुने अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र बिष्टले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशन उद्घाटनका अवसरमा शाखामा स्थापित पुरस्कार समेत वितरण गरिने शाखा सभापति राजेशकुमार अर्यालले जानकारी दिनुभयो । 
महासंघ पाल्पा शाखाको नयाँ नेतृत्वका लागि भोलि निर्वाचन हँुदैछ । निर्वाचन निर्देशिका बमोजिम अग्रज पत्रकार उमानाथ आत्रेयको संयोजकत्वमा नेपालबार एसोशियसनका अध्यक्ष जोगबहादुर विक र पत्रकार भरत आचार्य सदस्य रहेको निर्वाचन समिति गठन गरिएको पत्रकार महासंघ पाल्पा शाखाले जनाएको छ । यस अघि नै आन्तरिक लेखापरीक्षणका लागि कमलराज तिमिल्सिना, माधव अर्याल र रेखीराम राना सदस्य रहेको एक समिति गठन गरेको पाल्पा शाखाले सांगठनिक प्रतिवेदन तयार गर्न शाखा सचिव किरण कौशल र आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष मिलन विकलाई जिम्मेवारी दिएको थियो । सहमतिका आधारमा नयाँ नेतृत्वको चयन हुने पूर्व सभापतिहरुले जनाएका छन् । सबैको छाता संस्था भएकाले पनि महासंघलाई  मिलाएर अघि बढाइने पाल्पा शाखाका पूर्व सभापति  झपेन्द्र गहिरेले बताउनुभयो । विगतका गल्ती सच्याउन पनि मिलेर जानुपर्छ, गहिरेले भन्नुभयो त्यसैमा महासंघको हित हुन्छ । 
पाल्पाली पत्रकारिताको गरिमा उचो राख्न पनि सहमति आवश्यक रहेकोमा गहिरेले जोड दिनुभयो । पूर्व सभापति भगवान भण्डारीले सबैको छाता संगठन महासंघमा सबै अट्ने र अटाउने वातावरण बन्दै गएको बताउनुभयो । सहमतिको विकल्प छैन, पूर्व सभापति भण्डारीले भन्नुभयो तर सहमतिका लागि अड्डी लिनु भन्दा सबैले छाती फराकिलो बनाउनु आवश्यक छ । शाखाको स्थापना कालदेखि सहमतिमा आधारमा नेतृत्व चयन गरेर देशैभरि उदाहरणीय बनेको पाल्पामा नेतृत्व कर्ता पनि सबै सदस्यप्रति समदर्शी र सबैको भावना अनुसार चल्न सक्नु हुनुपर्ने भण्डारीको भनाइ छ ।
 

पुरस्कारका लागि सात लाखको अक्षय कोष 

 
नेपाल पत्रकार महासंघ पाल्पा र लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन बीच राष्ट्रिय शिक्षा स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि ७ लाखको अक्षय कोष राख्ने सहमति भएको छ । 
महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल र मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोख्रेल बीच सहमति भएको पाल्पा शाखाले जनाएको छ । मेडिकल कलेजले सो रकम आजको अधिवेशन उद्घाटन समारोहमा हस्तान्तरण गर्ने कलेजका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal