एसइइ परीक्षा आजदेखि सुरु

shreenagarfm

काठमाडौं, चैत ३ – यसवर्षको माध्यमिक शिक्षा परीक्षा बिहीबारदेखि सुरु भएको छ । परिक्षाको पहिलो दिन अहिले अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।
परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ ।
परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष,निरीक्षक र कार्यालय सहायक गरी ६७ हजार ५ सय ९१ कर्मचारी खटाइएको छ । परिक्षाका नियम उल्लंघन गरेमा १  लाख रुपैयाँ जरिवाना,६ महिना जेल वा दुवै सजाय हुन सक्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
शिक्षा ऐनको आठौं संशोधनमा माध्यामिक तहको परिक्षा राष्ट्रिय परिक्षा वोर्डले क्षेत्रीय स्तरमा गर्ने उल्लेख भएपनि तयारी नपुगेको भन्दै अन्तिमपटकका लागि परिक्षा नियन्त्रण कार्यालयलाइ माध्यामिक शिक्षा परिक्षा एसइइ परीक्षा गर्ने जिम्मेवारी दिइएको छ ।
यसअघि कक्षा १० लाई एसएलसी परीक्षा भनिएकोमा नयाँ व्यवस्था अनुसार कक्षा १२ मा मात्रै एसएलसी परीक्षा हुने भएकाले बिहीबार परीक्षा दिएका विद्यार्थीले २ वर्षपछि फेरी कक्षा १२ मा एसएलसी दिनुपर्ने छ । तर पोहोर परारको एसएलसी परीक्षा जसरी गरिन्थ्यो बिहीबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा पनि ठ्याक्कै उस्तै हुने परिक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत्र ३ गते अनिवार्य अंग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्धितिय विषयको परीक्षा संचालन हुनेछ ।
 
परीक्षामा पाल्पाबाट ५ हजार ६ सय ६२ विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । 
पाल्पाका १ सय ३१ विद्यालयका लागि २४ परीक्षा केन्द्रमा भएको परीक्षा विहान ८ बजे सुुरु भई ११ बजे सकिनेछ । परीक्षामा नियमित तर्फ ५ हजार १ सय ८६, एक्जामटेडतर्फ ७८ र आंशिक ग्रेड तर्फ ३ सय ८८ विद्यार्थी सहभागी रहेका जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले जानकारी दिनुभयो । परीक्षाका लागि २४ जना केन्द्राध्यक्ष, २९ सहायक केन्द्राध्यक्ष, २०९ जना निरीक्षक, १३० सहायक निरीक्षक र ३६० सुरक्षाकर्मी परिचालित छन् । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal