अधिकार सम्पन्न हुदैछन् गाउँपालिका र वडाकार्यालयहरु

shreenagarfm

पाल्पा, चैत्र २८ 
संविधान अनुसार सरकारले ७ सय ४४ स्थानीय तह निर्धारण गरेर कार्यान्वयनमा ल्याएको छ । सरकारले देशभरका स्थानीय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा कर्मचारी समेत खटाएको छ । साबिकका जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएका छन भने गाविस गाउँपालिकामा परिणत भएको छ । जिविस र गाविसका साइनबोर्डका स्थानमा जिल्ला समन्वय समिति र गाउँपालिकाको  साइनबोर्ड राखिएको छ । स्थानीय तहकाको क्षेत्र निर्धारणसँग नागरिकमा नयाँ उत्साह र केही स्थानमा विरोध पनि सुरु भएको छ । पाल्पामा ८ गाउँपालिका र २ नगरपालिका रहने गरी  स्थानीय तह निर्धारण गरिएको छ । नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृत खटिएका छन् । 
के के छन त गाउ“पालिकाले प्रयोग गर्न सक्ने अधिकार हरु ? संविधानको अनुसूची–८ मा व्यवस्था भएअनुसार स्थानीय तहले निम्नानुसारका अधिकार प्रयोग गर्न सक्नेछन् ः १. नगर प्रहरी, २. सहकारी संस्था, ३. एफएम सञ्चालन, ४. स्थानीय कर सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर मालपोत दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन ।, ५. स्थानीय सेवाको व्यवस्थापन,६. स्थानीय तथ्याङ्क र अभिलेख संकलन, ७. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरु, ८. आधारभूत र माध्यामिक शिक्षा, ९. आधारभूत स्वास्थ्य र सरसफाइ, १०. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता, ११. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ, १२. गाउ“ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
१३. स्थानीय अभिलेख व्यवस्थापन
१४. घर जग्गा धनी पुर्जा वितरण
१५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
१६. जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन, १७. बेरोजगारको तथ्याङ्क संकलन, १८. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण, १९. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा
२०. विपद व्यवस्थापन, २१. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
२२. भाषा संस्कृति र ललितकलाको संरक्षण र विकास  
यस्ता छन वडा अध्यक्षका अधिकार 
सरकारले संविधान अनुसार ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएपछि गाउँगाउँमा उत्साह आएको छ । स्थानीय तहसँगै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनले गाउँगाउँमा चुनावी चहलपल बढेको छ । आगामी वैशाख ३१ गते हुने निर्वाचनको लागि राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । नगरपालिका र गाउ“पालिका उम्मेदवार को भन्ने बन्ने दौडधुप राजनीतिक दलभित्र सुरु भइसकेको छ । संविधानले गाउ“पालिकालाई धेरै अधिकार दिएको छ । अब घण्टौ धाएर सदरमुकाम जानु पर्ने बाध्यता हटेको छ । सरकारले स्थानीय तहमा कार्यकारी अधिकृत खटाएको छ । स्थानीइ चुनावमा देशभरका ६ हजार ८ सय ८० वडाका वडाध्यक्ष चयन हुनेछन् । निर्वाचन नजिकदै जाँदा धेरैको दौडधुप गाउँपालिको अध्यक्ष उपाध्यक्ष र नगरपालिकाको मेयर र उपमेयरमा तानिएको छ । गाउँपालिकाका अध्यक्षलाई मात्र हैन वडा अध्यक्षलाई पनि थुप्रै अधिकार दिइएको छ । 
वडा अध्यक्षको जिम्मेवारी  
हरेक वडा अध्यक्ष सम्वन्धित गाउँकार्यपालिका वा नगरकार्यपालिकाको स्वत सदस्य हुनेछन् । केन्द्र सरकारमा मन्त्रीको भूमिका जस्तै हरेक वडा अध्यक्षले आफ्नो गाउ“पालिकाभित्र कार्यकारी अधिकार पाउनेछन् । जस्तै एउटा वडा अध्यक्षलाई गाउ“पालिका प्रमुखले आफ्नो सरकार अन्तर्गत शिक्षा क्षेत्र हेर्ने जिम्मा दिन सक्छ, अर्काेलाई खानेपानी, अर्काेलाई सिंचाइ, अर्काेलाई कृषि । यसरी मन्त्रालयको भूमिकामा हरेक वडा अध्यक्षले जिम्मेवारी पाउनेछन् ।
संविधानले नै हरेक गाउ“कार्यपालिका र नगरपालिकाले आफ्नो कार्यविभाजन र कार्यप्रक्रिया नियमावली बनाउनु पर्ने व्यवस्था छ । त्यसरी कार्यविभाजन नियमावली बनाउँदा गाउँपालिकाका सदस्यहरु अर्थात वडा अध्यक्षहरुलाई कामको जिम्मेवारी तोकिनेछ ।
हरेक वडालाई सेवाकेन्द्रको रुपमा राखिएको छ ।  त्यो वडाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने जिम्मेवारी पनि वडा अध्यक्षकै हुन्छ । तर, वडाको आर्थिक विकासमा वडा अध्यक्षको पूर्ण अधिकार भने हुँदैन । किनकि वडा अध्यक्षले आफैँ वडामा शासन गर्दैन । त्यहाँको सेवा प्रभावकारी बनाउने भूमिका हुन्छ र त्यसका लागि वडा सदस्यहरुको सहयोग लिन सक्छ । वडा अध्यक्षहरु स्वतः गाउँसभाका सदस्य हुन्छन् । गाउँसभाका सदस्यहरु भनेको गाउँपालिकाको सांसद हुन् । आफ्नो गाउँपालिका वा नगरपालिकाको कानुन बनाउने काममा वडा अध्यक्ष वा गाउँसभाका सदस्यहरुको भूमिका रहन्छ । 
गाउँपालिका प्रमुख उपप्रमुखले ल्याएका योजना, नीति तथा बजेट फेल गराउने र पास गराउने काम समेत यसै गाउँसभाका सदस्य अर्थात् वडा अध्यक्षहरुले गर्नेछन् । उनीहरुको अर्काे निर्वाचन गर्ने भूमिका पनि हुन्छ । त्यो भनेको गाउँसभामा वडाका महिला सदस्यहरुबाट जम्मा चार जना र नगरसभामा वडाका महिला सदस्यहरुबाट ५ जना सदस्य चयन गर्नु पर्ने हुन्छ । यस्तै दलित तथा अल्पसंख्यक सदस्यहरुबाट पनि गाउँकार्यपालिकामा २ र नगर कार्यकापालिकामा ३ सदस्य वडा सदस्यहरुबाट गर्नुपर्ने हुन्छ । त्यो निर्वाचित गर्ने काम पनि गाउ“सभाका सदस्यहरु अर्थात वडा अध्यक्ष र सदस्यहरुले गर्नेछन् । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal