पाल्पामा भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु दुई घाइते

shreenagarfm

पाल्पा, वैशाख ११
आइतबार पाल्पामा भएको दुई छुट्टा छुट्टै स्थानको सडक दुर्घटनामा ५ जनाको ज्यान गएको छ ।  तिनाउ गाउँपालिकामा भएको ट्रिपर दुर्घटनामा एक परिवारका तीन सहित चार जना र पालुङ्मैनादीमा भएको  जिप दुर्घटनामा एक जनाको ज्यान गएको हो । जिप दुर्घटनामा दुई जना घाइते भएका छन् । दिउँसो ४ बजेतिर सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन आउँदै गरेको लु १ ख ९०३१ नम्बरको ट्रिपर,  तिनाउ गाउँपालिका वडा नम्बर ३ भलाएवासमा दुर्घटना हँुदा चालक तिनाउ ६ का २७ वर्षीय पुरन सारु, उहाँका श्रीमती २४ वर्षीया बाल कुमारी, छोरा ५ वर्षीय हेमेस र सहचालक २२ वर्षीय विमल कनौजेको घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो । अप्ठ्यारो भीरमा ट्रिपर खसेकाले समयमै उद्धार गर्न समस्या भएको स्थानीयले जनाएका छन् । दुर्घटना बुटवल पाल्पा सडकको झुम्सापुलदेखि दुई किलोमिटर माथि  भलाएवासमा भएको हो । ट्रिपरमा चार जना मात्रै थिए । आइतबार विहान ८ बजेतिर पाल्पाकै पालुङ्मैनादीमा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । 
    रिब्दीकोट गाउँपालिका ७ पालुङ्मैनादीबाट सदरमुकाम तानसेन आउँदै गएको लु १ ज १५८१ नम्बरको जिप दुर्घटना हुँदा पालुङ्मैनादी ७ का गाडी धनी ३० वर्षीय दानबहादुर गाहाको घटनास्थलमै ज्यान गएको हो । घाइते पालुङ्मैनादी ७ कै ४६ वर्षीय प्रेमबहादुर गाहा र उहाँका ८ वर्षीय छोरा भुपेन्द्रको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको छ । घाइते दुवैको अवस्था खतरामुतm रहेको अस्पतालले जनाएको छ । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal