म्यादी प्रहरीले म्यादीलाई कुटे

shreenagarfm

पाल्पा, वैशाख २५
पाल्पामा म्यादी प्रहरीले म्यादीकै दुई जनालाई कुटेर घाइते बनाएका छन् । रासन र पोषाक भत्ता बुझेकै दिन बिहीबार बेलुकी मापसे गरेका म्यादी प्रहरी सुनिल हिताङले दुई म्यादी ओमबहादुर ठडराई र संगम ठडराईलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तालिम सकेपछि घर फर्कदै गरेका ओमबहादुर र संगम ठडराईलाई दुई युवाको सहयोगमा सुनिल हिताङले सुरक्षाका लागि दिइएको लाठीले  हानेर घाइते बनाएका हुन् । घाइते दुई जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । 
नास्ता खाइरहेको बेला होटलमा आएर सुनिल हिताङले लाठी, ईट्टा र फलामको रडले आक्रमण गरेको घाइते ओमबहादुर ठडराईले जानकारी दिनुभयो । आक्रमणमा संलग्न सुनिलका दुई साथीहरु विवेक र नवीन गैरै फरार रहेको प्रहरीले जनाएको  छ । आक्रमण गर्ने सुनिललाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासन भत्ता र पोषाक खर्च गरी बिहीबार बेलुकी म्यादीप्रहरीलाई नौ हजार ६९ रुपियाँ दिइएको थियो । श्रीनगर डाँडामा तालिम सकेर पैसा दिइएको र पैसाको सही प्रयोग गर्न भनेको एक घण्टा नबित्दै मापसे गरेका म्यादीले म्यादीलाई नै कुटेको  प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।  
कुटपिटमा संलग्न तानसेन ५ कैलाशनगरका म्यादी प्रहरी सुनिल हिताङले आफ्ना साथीहरु विवेक रुचाल र नवीन गैरेसँग म्यादीका ओमबहादुर र संगम झगडा गरेकाले आक्रमण गरेको बताएका छन् । कुटाई खाएका ओम बहादुर र संगम ठडराई ठिमुरे पोरक्नेका हुन् । प्रहरीका अनुसार होटलमा नास्ता खानेक्रममा खुट्टाले छोइएको निहुमा उनीहरु झगडा गरेका थिए ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal