नसुध्रिएको बाटो

shreenagarfm

देव पचभैया
पाल्पा, जेठ २२, तानसेनको बसपार्कदेखि टक्सारटोलको घुम्तीसम्मको झण्डै आधा किलोमिटरको बाटो बिग्रिएको वर्षौ भइसक्यो । उसै पनि बाटो सा“घुरो छ । खाल्डाखुल्डीले भरिएका छन् । धुलोका कारण पनि सितिमिति पैदलयात्री यो बाटोमा हिड्ने आँट गर्दैनन् । मोटरसाइकल र साना गाडीलाई समेत सास्ती हुने सडकमा  पैदल हिँड्दा अनिवार्य मुख छोप्नै पर्छ । 
चश्मा लगाउनुपर्छ अनि लगाइएका लुगा धुलोले छोपिन्छन् , जुत्ता धुलोमै लटपटिन्छ । पछिल्लो समय तानसेन बजारकै कुरुप बाटोको रुपमा परिचित बसपार्क लहरेपीपलको सडक निर्माणका लागि काम पनि भइरहेका छन् तर प्रभावकारी शून्य प्रायः छ । काम गरेको वर्ष दिन नहुँदै पिच उप्किएका छन् । खाल्डापरेर पानी जमेका छन् । ढल रोकिएर सडकमै हिडेका फोहोरपानीले बाटो झन् बिग्रिएको छ । एकै छिन पैदल वा गाडीमा हिड्दा त यति सारो दुःख हुन्छ भने स्थानीयले भोगेको पीडा वर्णन गरिसाध्य छैन । धुलोकै कारण सडक छेउछाउका बासिन्दामा स्वास्थ्यमा नकारात्मक असर परेको    छ । 
श्वास प्रश्वास, आँखा र घाटीको समस्या थपिएको छ । धुलोले  एलर्जी बढाउदा थप जटिलता खेप्नु परेको स्थानीयको गुनासो छ । पहिले निकै चहलपहल हुने सडकमा अहिले मान्छे हिड्न कम भएपछि व्यवसायीको व्यापार घटेको छ । घरधनीको सटर, भाडामा  जान छोडेको छ ।
 
 
 
 
 
 
 
सडक विभागको जिम्मामा रहँदै बेवास्ताको सिकार बनेको लहरेपीपलको बाटोलाई सहरी सडकको नाउमा पाँच वर्षअघि नगरपालिकाले सकारेपछि झन बाटोको दुर्गति सुरु भएको हो । 
शहरी सडकलाई नौ मिटरको चौडा बनाउने नगरपालिकाको मापडण्ड अहिले सम्म कार्यान्वयन भएको छैन । 
३७ लाखको ठेक्का, काममा ढिलाई 
सडक विभागबाट तानसेन नगरपालिकाको जिम्मामा यो सडक आएदेखि बसपार्क हु“दै लहरेपीपलको बाटोमा ठूलो रकममा अहिलेसम्म काम भएको छैन । टालटुल र मर्मतसम्भार मात्रै गरेको बताउने नगरपालिकाले नगरपूर्वाधार विकास कार्यक्रमबाट अहिले ३७ लाखको ठेक्का लगाएको छ । असार मसान्तभित्र सकाउने गरी नालीको मर्मत, बाटो पिच लगायतका कामका लागि तिमिल्सिना कन्ट्रक्सनले जिम्मा पाए पनि कछुवाको गतिमा काम भएको छ । ढलानको काम गर्न पटक–पटक नगरपालिकालाई बाटो रोक्न भने पनि नगरपालिकाले चुनाव पछि काम गर्न भनिरहेको तिमिल्सिना कन्ट्रक्सनका संचालन विश्वप्रसाद तिमिल्सिनाले गुनासो गर्नुभयो ।
 
 
 
 
 
 
 
 
कहिले सिडियोलाई भन्नुस् भन्छन्, कहिले ट्राफिकलाई बाटो रोक्न लगाउँछन्, विश्वप्रकाश भन्नुहुन्छ नगरपालिकाले काम गर्ने वातावरण बनाएकै छैन, यस्तै अवस्था हो भने समयमै काम गर्न गाह्रोे छ । तानसेन नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत बिष्णु पौडेलका अनुसार हुलाङ्दी ढुङ्गाखानीको बाटोमा समेत मर्मतको काम भइरहेकाले लहरेपीपलको बाटो रोक्न समस्या भएको हो । आर्थिक कारोबारको जिम्मेवारी कार्यकारी अधिकृतलाई मात्रै भएको तर कार्यालय प्रमुख निर्वाचनका लागि अर्घाखाँची खटिएकाले पनि काममा ढिलाई भएको पौडेलको भनाइ छ । 
बसपार्क, मिसन, आँखा अस्पताल हँुदै बतासे डाँडाको बाटोलाई सुचारु गराए पनि लहरेपीपलको बाटो बनाउने योजना छ, नगरपालिकाका प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो पहिले टालटुले बजेट थियो, अहिले देखिने बजेट छ । काम राम्रो हुनेछ । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal